नियम १४
उम्मेदवारको बन्दसूची पेश गर्ने
(१) नियम ३ को उपनियम (१) बमोजिमको निर्वाचन कार्यक्रम प्रकाशन भएपछि समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा भाग लिन चाहने दलले ऐनको दफा २८ बमोजिम तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लिखित मिति र समयभित्र आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(२) दलले उपनियम (१) बमोजिम उम्मेदवारको बन्दसूची तयार गर्दा सम्बन्धित प्रदेशको भौगोलिक सन्तुलनलाई समेत ध्यान दिई जनसङ्ख्याको आधारमा यथासम्भव अनुसूची–१ मा उल्लेख भए बमोजिम दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसङ्ख्यक समुदाय समेतको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त बमोजिम तयार
गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दलले उम्मेदवारको बन्दसूची पेश गर्दा प्रत्येक समावेशी समूहबाट कम्तीमा पचास प्रतिशत महिलाको नाम समावेश गर्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम उम्मेदवारको बन्दसूची पेश गर्दा अपाङ्गता भएको व्यक्तिको नाम समेत समावेश गर्नु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम दलले पेश गरेको बन्दसूचीमा समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने कूल सदस्य सङ्ख्याको दश प्रतिशत भन्दा कम सङ्ख्यांमा उम्मेदवारी दिएमा आयोगले त्यस्तो बन्दसूची दर्ता गर्ने छैन ।
(६) एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुने गरी दर्ता भएका दलले उम्मेदवारको बन्दसूची पेश गर्दा सम्बन्धित उम्मेदवार कुन राजनीतिक दलसँग सम्बन्धित हो सो समेत खुलाउनु पर्नेछ ।
(७) दलले उम्मेदवारको बन्दसूची पेश गर्ने ढाँचा अनुसूची–२ बमोजिम हुनेछ ।
(८) उम्मेदवारको बन्दसूची पेश गर्ने तथा सो उपर छानबीन गर्ने सम्बन्धी अन्य प्रकृया आयोगबाट स्वीकृत निर्देशिका बमोजिम हुनेछ ।